काठमाडौँ, २९ माघ –राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्।
उनले भने, ‘यो एक वर्षमा सरकार र प्रमुख प्रतिपक्षी कांग्रेस दुवै असफल भए। उनीहरूले अवसरको सदुपयोग गर्न सकेनन्।’
मङ्गलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने, ‘ओली सरकारलाई मान्नैपर्छ। २०४७ सालपछि पहिलोपटक दुई तिहाइको बहुमत ल्याउन सफल भएको छ। ओलीजीको लागि यो मौका हो।’
राणाले प्रधानमन्त्री ओलीले दुई तिहाइको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए। उनले भने, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो। यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना-पाना पल्टाईपल्टाई हेर्यौँ भने मौका खेर फालेको पाइन्छ। सरकारले यो एक वर्षमा हासिल गरेका उपलब्धि शून्य छ।’
व्यापारघाटा पनि डरलाग्दो रहेको उनको भनाइ छ। उनले भने, ‘आयातको १० प्रतिशत जति पनि निर्यात भएको छैन। हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन। काम केही भएकै छैन।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरे पनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ। उनले थपे, ‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिइयो? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन? म प्रश्न गर्न चाहन्छु।’ राणाले वाइडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाए।
कूटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाको आरोप थियो। ‘अहिले कूटनीतिक सन्तुलन गुमेको छ। हामी एकतिर मात्र ढल्केका छौँ,’ उनले भने।
राणाले भेनेजुएला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे। उनले भने, ‘भित्तासित कुहिनो ठोक्ने काम भयो। यस्तो गर्नु हुँदैनथ्यो। भेनेजुएलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाई त सन्देह नै लाग्छ।’