काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएसँगै उनी सोमबार (आज) अस्पताल भर्ना हुने भएका छन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका आलीको मिर्गौला प्रत्यारोपण गरिने भएको हो।
नेकपाको आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो उपचारको बारे जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताएका छन्। प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार रहेका छन्।
दुवै मिर्गौला फेल भएपछि २०६४ सालमा भारतको दिल्लीस्थित एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए।