एजेन्सी– म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको उपाधि रक्षा गरेको छ। आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ ले पराजित गर्दाै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो।
सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो। सिटी २०१७ को सिजन देखि लगातार च्याम्पियन बनिरहेको छ। समग्रमा सिटीको यो सातौ कारवाओ कप उपाधि हो।
वेम्वली स्टेडियममा सिटीको जितमा सर्जियो अगुइरो र रोड्रीले गोल गरे। एस्टन भिल्लाका एमविवाना समताले गोल गरेपनि हार टार्न सकेन। सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो।
खेलको २०औं मिनेटमा अगुइरोको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो। उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए। ३०औं मिनेटमा इकेए गुन्डोगानको पासमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
४१औं मिनेटमा एमविवानाले गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफमा लिएको अग्रता नै सिटीलाई च्याम्पियन बन्न पर्याप्त बन्यो।