काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी नातिनीले मिर्गौला दिने भएकी छिन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नका लागि नातिनीसँग ‘म्याच’ भएपछि उनी तयार भएकी हुन्।
प्रधानमन्त्री ओलीकी नातिनीको नाम भने खुलाइएको छैन। पहिलेदेखिनै प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी थिइन्। ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो।
यसअघि २०६३ सालमा दिल्लीमा मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो। दोस्रो प्रत्यारोपण भने देशभित्रै शिक्षण अस्पतालमा गर्ने चाहना प्रधानमन्त्रीले राखेका हुन्।
बालुवाटार स्रोतको अनुसार मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला चलेका बेला प्रधानमन्त्रीले देशभित्रै उपचार गराउन चाहेका हुन्। नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको स्रोतले बताएको छ।