अर्घाखाँची– नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताए। आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ। यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ। ”
पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाए।
गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले दोषी भएमा कोही उम्किन नसक्ने बताए। नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
युवासङ्घका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसारनै काम गर्ने बताए।