एजेन्सी– युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानेचस्टर युनाइटेडले सहज प्रतिद्धन्द्धी पाएको छ। युइएफएले शुक्रबार राति सार्वजनिक गरेको ‘ड्र’ अनुसार म्यानचेस्टरले अन्तिम १६ मा अष्ट्रियन क्लब लास्कलाई प्रतिद्धन्द्धी पाएको हो।
युनाइटेडले पहिलो लेगमा १२ मार्चमा लास्कसँग उसको मैदानमा खेल्नेछ। दोस्रो लेग २० मार्चमा युनाइटेडको मैदानमा हुनेछ। यस्तै अर्काे इंग्लिस क्लब वल्भ्सले ग्रीसको ओलम्पियाकोस प्रतिद्धन्दी पाएको छ। स्पेनिस क्लब सेभियाले इटालियन क्लब एएस रोमासँग प्रि–क्वाटरफाइनलमै प्रतिस्पर्धा गर्नेछ।
इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेसँग खेल्नेछ। स्कटल्यान्डको रेन्जर्सले जर्मन क्लब बायर लिभेरकुसेनसँग खेल्दा युक्रेनी क्लब शाख्तर डोनेस्कले जर्मन क्लब वल्फवर्गसँग खेल्नेछ। यस्तै स्वीस क्लब बसेलले जर्मन क्लब फ्रन्कफर्टसँग खेल्नेछ।
फ्रान्कफर्टले शुक्रबार राति भएको खेलमा साल्जवर्गलाई समग्रमा ६–३ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो।
फ्रन्कफर्टले पहिलो लेगमा ४–१ को जित पाएको थियो। दोस्रो लेग २–२ गोलको बराबरीमा टुगिंएको थियो। प्रि–क्वाटरफाइनलको पहिलो लेग १२ र १३ मार्चमा तथा दोस्रो लेग १९ र २० मार्चमा हुनेछ।