एजेन्सी– लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको नर्विच सिटीसँग स्तब्ध बनेको छ। लेस्टर घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो।
क्यारो रोड नोरफल्क नर्विचमा शुक्रबार राति भएको खेलमा लेस्टरलाई स्तब्ध बनाउन जमल लेविसले खेल सकिन २० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो। लेस्टरले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन। हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ। यस्तै लेस्टरले प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाउने मौका गुमाएको छ। लेस्टरको २७ खेलबाट ५० अंक छ। एक खेल कम खेलेको चेल्सीको ४४ अंक छ। लेस्टरलाई हराएको नर्विच २१ अंक जोडेर पुछारमा यथावत छ।
घरेलु टोलीलाई दवावमा राखेपनि लेस्टरले नर्विचको बलियो रक्षापङ्ति तोड्न सकेन। खेलको आठौं मिनेटमा जमल लेविसको फ्रि हेडर सदुपयोग भएन। २०औं मिनेटमा डेनिस प्राएटको हाफ भली प्रहार नर्विचका गोलरक्षक टिक क्रुलले नियन्त्रणमा लिए। २६औं मिनेटमा हारभे वार्नेसको पासमा रिकार्डाे पेरेराको प्रहार क्रसबारमा लागेर फर्कदा लेस्टर अग्रता लिनबाट चुक्यो। त्यसपछि पनि लेस्टरले तीन सुन्दर मौको खेर फालेको थियो।
दोस्रो हाफको शुरुमै लेस्टरका केलिची इहानाचोले गोल गरेपनि भिएआरबाट मान्यता पाएन। उनले गोल गर्नुअघि भिएआरमा ह्यान्ड देखिएको थियो। नर्विचलाई लगातार दवावमा राखेको लेस्टरले ७०औं मिनेटमा गोल खान पुग्यो। म्याक्स आरोन्सको क्रसमा जमल लेविसले गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टर घरेलु टोलीसँग १–० ले स्तब्ध बन्न पुग्यो।