काठमाडौं– राजधानीमा आजदेखि पाँचौँ राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु भएको छ। नेपाल उमासङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १९ जिल्लाका २१५ खेलाडी सहभागी छन्। उनीहरुले ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताबाट नेपालमा आयोजना हुने एशियाली उमा कुङ्फु च्याम्पियनशिप तथा भारतमा यसै वर्ष हुने विश्व कुङ्फु च्याम्पियनशिपका लागि खेलाडी छनोट गरिनेछ। प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरी प्रशिक्षणका लागि चीन पठाइने आयोजक सङ्घका अध्यक्ष एवम् अन्तर्रा्ष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिए।
आज सम्पन्न खेलमा यू–१४ मा पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो, ललितपुरका रिसभदेव खड्का दोस्रो तथा रामेछापका मिङ्मा तामाङ र काठमाडौंका निर्भान कार्की तेस्रो भए। यस्तै यू–१४ वर्षभन्दा बढी उमेर समूह पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी पहिलो, रामेछापका सिवान सुनुवार दोस्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेस्रो भए।
यसैगरी यू–१४ पुरुष ग्रुप प्याटर्नतर्फ उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली पहिलो भयो। यसैगरी यू–१४ प्याटर्नअन्तर्गत महिला एकल बेयर ह्यान्डतर्फ सोलुखुम्बुकी रेखा राई पहिलो, उदयपुरकी पार्वती मगर दोस्रो तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेपलाञ्चोककी प्रज्ञाश्री शाक्य तेस्रो भए।
सोही स्पर्धाको वेपनमा खोटाङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोस्रो तथा काठमाडौंकी साइना महर्जन र ओखलढुङ्गाकी सिर्जना बोगटी तेस्रो भइन्। यू–२३ ताइची महिला समूह स्पर्धामा तनहुँकी जमुना गुरुङ, नुवाकोटकी अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौँकी निकिशा पौडेलसहितको टोली पहिलो भयो। प्रतियोगिता दुई दिनसम्म चल्नेछ।