काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान प्रचण्ड निवासमा भएको ओली इतरका नेताहरुको बैठकमा सहभागी भएका नेपाल बैठकको निर्णय जानकारी गराउन प्रधानमन्त्रीसँग भेट गरेको बताएको छ।
आज बिहान प्रचण्ड निवासमा बसेको ओली इतरका नेताहरुको बैठकले सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीको चाहनाअनुसार वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिन नसकिने स्पष्ट पारेका प्रचण्डले उनलाई मन्त्री बनाउन चाहे ६ महिना मन्त्री बनाउन सकिने बताएका छन्।
बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गत बुधबारको सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि नेकपाको ध्रुवीकरण तीव्र बनेको छ।
नेकपा सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने नगरे पार्टी छाडेर जान सुझाव दिएका वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक रुपमै चेतावनी दिएपछि ओली पक्षका नेताहरुले उनको आलोचना शुरु गरेका छन्।