काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारका पूर्व प्रवक्ता गोकुल बाँस्कोटाको प्रवक्ता नबन्न सुझाव दिएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘पूर्वप्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया! अनुसन्धान प्रहरीले, बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो। अरूको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ। अझ अडियोको प्राविधिक परीक्षणसम्म यहाँले नै?’
ओलीले पार्टी प्रशिक्षणमा बाँस्कोटाको बचाउ गर्दै अडियोमा कमिसन मागेको भन्ने कुरामा सत्यता नरहेको दाबी गरेको खबर बाहिरिएपछि शर्माले यस्तो बताएका हुन्। राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको जनाए।
प्रधानमन्त्री ओलीले के भनेका थिए?
‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन।
भ्रष्टाचार भएको जस्तो गरी प्रचार गर्नु जरूरी छैन। दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन। कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो।’
बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्। प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरेका थिए।