काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटको उपाधि नेपालले नै जित्ने बताएका छन्। ९ महिनापछि नेपाली टोलीको प्रशिक्षकमा पुनरागमन गरेको टमाटाले समग्रमा तयारी राम्रो भएको कारण टोलीले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।
टमाटाले टोलीमा सन्तुलन रहेको बताउँदै ब्याटिङ नयाँ अभ्यास गरिने बताएका छन्। उनले नेपालको ओपनिङमा अल राउण्डर कुशल मल्ल आउने सम्भावना रहेको बताए। यसअघि कप्तान ज्ञानेन्द्र मल्लले पनि उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने बताएका थिए।
एसिया कपको शुरुवाती प्रक्रियाको रुपमा रहेको यस प्रतियोगितामा सहभागि जनाउन नेपाली टोली हिजो (बिहीबार) थाइल्याण्ड पुगेको थियो। नेपाली टाेलीले थाइल्याण्डमा शुक्रबार अन्तिम तयारी गरेकाे छ। खेलाडीलाइ मुख्य प्रशिक्षक टमटाले प्रत्यक्ष निगरानीमा सबैखाले अभ्यास गराएका छन्।
एसिया कप खेल्ने लक्ष्यमा अघि बढेकाे नेपालले मुख्य हतियार बलिङ नै भएपनि ब्याटिङमा पनि धेरै सुधार गर्नुपर्नेछ। प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल , मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन्। नेपालले फेब्रुअरी २९ मा मलेसियाविरुद्ध पहिलो खेल खेल्दैछ।
त्यस्तै दोस्रो खेलमा मार्च १ मा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि मार्च ४ मा नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ। अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ। राउण्ड रोबिनका आधारमा सन्चालन हुने प्रतियोगिताको उत्कृष्ट दुई टिम फाइनल पुग्नेछन् र एसिया कपको अन्तिम छ्नोटका लागि छनोट हुनेछन्।
नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का ,आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन्।