चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतम नै जाने बताएका छन्। गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ। तपाईँहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ।’
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुकाे प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोर्होयाउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन। हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ।’
सचिवालयको निर्णय नै आधिकारिक भएको र पार्टीका प्रवक्ता र महासचिवले उक्त निर्णय सार्वजनिक गरेको प्रचण्डले बताए। प्रचण्डले गौतमको नाम सिफारिस नगर्ने भन्ने कुरा आफुले कल्पना समेत गर्न नसक्ने जनाए।
उनले प्रधानमन्त्री केपी ओलीले काँग्रेस नेता शेखर कोइराला लगायतलाई भेटघाट गर्नु सामान्य र त्यो सबै नेताले गर्ने गरेको भन्दै त्यस्ता भेटघाटलाई अन्यथा लिन नहुने बताए। आफूले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेको तर व्यापारीहरुले प्रचण्ड, गौतम लगायतको डिनर मिटिङ गरेर गौतमलाई अघि सारेको सूचना पाएको ओलीको दाबी थियाे। प्रचण्ड शुक्रबार बिहान १० बजे चितवन गएका हुन्।