काठमाडौं– नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जन्मदिन मनाउन पाँचथर पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको टिप्पणी गरेका छन्। ओलीले आफ्नो जन्मदिनमा केक काटिएको कुरालाई नचाहिँदो तरिकाले बढाइचढाइ गरिएको बताएका छन्।
बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनका दिन तेह्रथुमको पुर्खौली घर भएको गाउँमा विकास र खुसीयाली आए पनि पत्रकारले केकमात्र देखेको बताए।
‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन्।’
पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे। प्रधानमन्त्रीले यसो भन्दा हलभरि हाँसो गुन्जिएको थियो।
आफ्नो गाउँको मान्छे प्रधानमन्त्री भएरआएको देखेर दिदीबहिनी खुसी भएकाे उनले बताए। उनले जन्मदिनमा कसैले केक ल्याएको, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको बताए। ‘म नेवारको ज्वाइँ हो, यही मात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’
उनले केकमा नेपालको नक्सा हुनु पनि सामान्य कुरा भएको बताए। ‘भारत, अमेरिकामा पनि त्यस्तो चलन छ। मेरै फोटो केकमा राखिएको हुन्छ। म काटिएँ त मैले भनिन,’ ओलीले भने।