काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै आफ्नो किड्नी ट्रान्सप्लान्ट गर्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफु अस्पताल भर्ना हुने जनाए।
‘छिट्टै मिर्गौला प्रत्यारोपण गर्दैछु। पाँच दिन अस्पताल बस्छु। छैठौं दिनदेखि काम गर्छु,’ प्रधानमन्त्री ओलीले भने,‘अझै १०–१५ वर्ष मलाई केही हुन्न।’ १२ वर्षअघि ओलीले पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। पछिल्लो समय उनको मिर्गौलाले काम गर्न छोडेको छ। अहिले उनी नियमित रूपमा डायलासिस गरिरहेका छन्।
उनले आफुमाथि समेत अख्तियारमा उजुरी हालेको प्रसंगमा व्यङ्ग्य गर्दै उनले त्यसलाई पत्रु भ्रष्ट उजुरीको संज्ञा दिए। प्रधानमन्त्री ओलीले प्रेस खरिद प्रकरणमा स्वीस प्रनिनिधिको नाम जोडिएको बताउँदै सरकारले स्वीससँग नभई फ्रान्स र जर्मनीसँग छलफल प्रक्रिया अघि बढाइरहेको भन्दै बाँस्कोटाको बचाउ गरे।