काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कमिशन माग्दै गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन्। बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको जनाए।
‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडियाे सार्वजनिक गरेको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भए जसरी प्रचार गर्नु आवश्यक छैन।’ बाँस्कोटाले अहिलेसम्म सार्वजनिक रूपमा उक्त टेप आफ्नो नभएको बताएका छैनन्।
प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे। ‘भ्रष्टाचार भएको जस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन।’
‘हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो। सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ,’ उनले भने। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गरे। उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए।
‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने। बाँस्कोटा राजीनामा दिएपछि पनि ओलीको निवासमा बस्दै आएका थिए।