काठमाडौं– राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायित्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण गराएका छन्।
उनले भने “के नेकपाका नेताहरुले आफ्नो अभिभारा बिर्सन थाल्नुभएको हो? देश र जनताको हित र स्वार्थलाई सर्वोपरि नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो?
नेताज्यूहरु यस्तो नहोस्। नेपाल कम्युनिष्ट पार्टी प्रति जनताको ठूलो साथ र भरोसा छ। त्यसैले तपाइहरु सम्हालिनुहोस्। र जनताको अभिमत,आकांक्षा र आफ्नै बाचाहरुलाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् भन्ने मेरा आफ्नै नेताहरुलाई आग्रह र अनुरोध छ। ”
उनले सार्वजनिक जग्गाको संरक्षणमा सरकार लागिपरेको बताए। ललिता निवासको एक सय ३६ रोपनी जग्गा व्यक्तिका नाममा गएकोमा फिर्ता ल्याउने काम भइरहेको उनले बताए। उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारवाहीको बचाउ गरे।
आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गरे। नेकपा महासचिव पौडेलका छोरा नविनको नाममा रहेको जग्गा सरकारलाई फिर्ता गरिसकेका छन्।