काठमाडौं– प्रतिनिधिसभाकाे आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेतपत्रप्रति आपत्ति जनाएका छन्।
पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको स्वेतपत्रमा आफ्नो नाम अनावश्यक रुपमा आएको उनले दाबी गरे। ‘स्वेतपत्र भनेको के हो? कुनै विषयमा जस्ताको त्यस्तै ल्याउनका लागि स्वेतपत्र जारी हुन्छ होला भन्ने मैले बुझेको थिएँ,’ उनले भने, ‘मैले मिडियाबाट थाहा पाएँ, जग्गा लिज दिन फलाना फलाना लागे भन्ने पढें। त्यो पढिसकेपछि तथ्य के होला भनेर खोज्न ट्रष्टको कार्यालय गएर माइन्युट हेर्न निवेदन दिएँ। तर हेर्न दिइएन।’
आफूले त्यसबारे मुख्य सचिवलाई पनि सोधेको तर त्यस्तो निर्णयमा आफ्नो संलग्नता नरहेको जानकारी पाएको उनले बताए। ‘मैले मुख्य सचिवलाई पनि सोधे। मुख्यसचिव म गृहमन्त्री हुँदा त्यही मन्त्रालयमा थिए।’ उनले भने,‘ मैले उनलाई सोधे। केही निर्णय भएको थियो त भनेर सोधे। उनले यो विवरण झुटा हो। हजुरको पालामा पनि भएन अरुको पालामा पनि भएको थिएन, भने।’
२०७४ कात्तिक १३ गते निर्णय भएको भनेर स्वेतपत्रमा आफ्नो पनि नाम परेको तर उक्त मितिमा आफू गृहमन्त्री नै नरहेको उनले बताए। ‘कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु। असोज ३० गते नै पत्रकार सम्मेलन गरेर विनाविभागीय जिम्मेवारीमा थिए र मन्त्री नै छैन।’ उनले भने,‘ मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्ने कुरा र कर्मचारीले नाम छैन भन्दा भन्दै लेख्नु पर्ने कारण के हो?’
सरकारलाई समर्थन गर्न दलालको घेराबाट मुक्त हुनुपर्छ भन्ने आफूले भनिरहेको पनि उनले बताए। ‘मलाई त ढाट्न सक्छ तर के जनतालाई ढाट्न सक्छ? जनता र मतदातालाई ढाट्ने किमार्थ सक्दैन’ उनले भने,‘जनता र मतदातालाई ढाट्ने सरकारले कहिलेपनि काम गर्न सक्दैन।’
उनले भने,‘विश्वासको संकट प¥यो यहाँ, मलाई जवाफ चाहिन्छ।’ सकारात्मक रुपमा आफ्नै पार्टीको सरकारलाई सहयोग गर्दा गर्दै यो नभएका विषय लेख्नु को के अर्थ हो भन्दै उनले प्रश्न गरे। नेता शर्माले आफूलाई यसबारे प्रधानमन्त्री, रक्षामन्त्री र सरकारले जवाफ दिनुपर्ने माग गरे।