एजेन्सी– एसीसी वेस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युएइले जितेको छ। बिहिबार भएको फाइनल खेलमा युएइले कुवेतलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
युएइले दिएको २ सय रनको विशाल लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रन मात्र बनायो। उसको लागि कप्तान मुहम्मेद अश्लामले २३ रन, बिलाल ताहिरले २२ रन बनाए। त्यस्तै मोहम्मद अमिनले अविजित १८ रनको योगदान दिँदा रभिजा सन्दरुवानले १२ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
युएइको बलिङमा सुल्तान अहमेदले आक्रामक बलिङ गरे। उनले ४ ओभरमा ९ रन दिँदै ४ विकेट लिए भने अहमेद राजाले ४ समान ओभरमा ८ रन दिँदै २ विकेट लिए। अर्का बलर जुनाइद सिद्धिकिले एक विकेट हात पारे।
त्यसअघि पहिले युएइले टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। उसको लागि चिराग सुरीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६० रनको योगदान दिए भने वाहिद अहमेदले १५ बलमा ४५ रनको विस्फोटक पारी खेले। त्यसैगरी रोहन मुस्ताफाले र मुहम्मद उस्मानले समान २८–२८ रन बनाए।
कुवेतको बलिङमा अफ्सल अस्रफले ४ ओभरमा ३५ रन खर्चिँदै २ विकेट लिए। अर्का अफ्सल अस्रफ, वसन्थ कुमरनायका र शिरज खानले समान एक एक विकेट लिए।
यससँगै युएइले एसीसी वेस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको विजेता र कुवेतले उपविजेताको रुपमा एसिया कप २०२० को अन्तिम चरणको छनोटमा स्थान पक्का गरेका छन्।