काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारका २ वर्ष जनतालाई हर्ष न विस्मात भएको बताएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको जिकिर गरे।
प्रतिनिधिसभा बैठकको विशेष समयमा मातातीर्थ लगायतका स्थानका जग्गा व्यक्तिको नाममा दर्ता गर्ने आफ्नो प्रधानमन्त्रीत्व कालमा निर्णय भएको विषयमा स्पष्टिकरण दिँदै डा. भट्टराईले विभिन्न समयमा आएका रायहरुको आधारमा स्वीकृति दिएको दाबी गरे। उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए।
३ फागुनमा संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको जग्गा भट्टराईको पालामा मोही कायम गरेर वितरण गरिएको र त्यसबारे छानबिन गर्ने बताएका थिए। नेपाल ट्रष्टले पनि मंगलबार जारी गरेको श्वेतपत्रमा त्यही भनिएको छ। बुधबार संसदमा समय लिएर बोल्दै भट्टराईले आफ्नो सरकारले गरेको निर्णयको बचाउ गरे।
आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा पनि तर्सिए ’जस्तै भएको बताए।
‘मोहीको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ र कानूनी रुपमा त्रुटी छैन’ भट्टराईले भने,‘ भट्टराईका केही मान्छे आफन्त छोराछोरीले बकस पाएको र गरेको छ भन्ने लागेको छ भने हेर्नुहोला तिनै गरिब किसान मात्र छन्। राजनीतिक कानूनी र नैतिक रुपमा कुनै त्रुटी देखिएको छैन।’
मालपोतबाट निर्णय बद्मासी भयो कि भनेर हेर्दासमेत सबै कार्यविधि पूरा गरेको पाइएको उनले जनाए। डा.भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको बताए।
२०५१ मा जनयुद्ध अगाडि तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउन गएको भन्दै उनले भने, ‘त्यतिबेला उनको अरिङ्गाल सेनाले खुकुरी हानेको अहिले पनि याद छ। त्यसैले लोकमान झै तर्साएर झुकाउँछु भन्ने ठान्नु भएको भए त्यो प्रसंग सम्झँदा राम्रो हुन्छ। त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के भयो सम्झिँदा हुन्छ।’
भट्टराईले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने प्रधानमन्त्री र प्रधानन्यायाधीशमाथि पनि निगरानी गर्न सक्ने र संसदप्रति उत्तरदायी जनलोकपाल बनाउन र आफूलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। डा.भट्टराईले सम्पूर्ण प्रक्रिया पुरा गरेर नै आफूले निर्णय गरेको जनाए। उनले भने, ‘नेपाल ट्रस्टको सूचना अनुसार विधिसम्मत नै आफूले उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको हो।’