काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।
बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए। यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरेका थिए तर उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताए।
यहीबीच केहीदिनअघि नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदल भने आज खारेज गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदैछ। नयाँ निर्वा्चित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन्। रासस