काठमाडौं– सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन्।
‘नेकपाका जसले गरे पनि त्यो शोषित र सर्वहाराको नाममा हुने,’ उनले भनिन्, ‘तर अन्यले गरे भ्रष्टाचार हुने?’ उनले नेकपाका मेयरदेखि मन्त्री र प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन्। नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन्। उनले भनिन् ,‘विधिका शासन कहाँ गयाे? सभामुख महोदय।’
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सम्पूर्ण प्रमाण नष्ट गर्ने प्रयास भएकाले उनीमाथि छानबिन हुनुपर्ने माग उनले गरिन्। बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खबरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन्।
यसरी भईरहेको भ्रष्टाचारमा प्रधानमन्त्रीले जिम्मा लिँदै सदनमा जवाफ दिनुपर्ने माग उनले गरिन्। ‘११ अर्बमा आउने सेक्युरिटी प्रेस ३८ अर्ब कसरी पुर्याइयो ’ उनले भनिन्, ‘यही प्रेस खरिद फ्रेन्चलाई किन दिनुर्पयो भने त्यहाँ यती होल्डिङ्गसको एजेन्ट थियो।’