काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार र सरकारका मन्त्रीहरु नै भ्रष्टाचार प्रकरणमा मुछिएको बारे प्रधानमन्त्रीले संसदमा यथार्थ जानकारी दिनुपर्ने जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका सांसद रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले प्रधानमन्त्रीको सर्वाङ्ग सम्पूर्ण नै गन्हाउने अवस्था सिर्जना भएको जनाए।
‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ। सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए। अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ,’ रिजालले भने, ‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला।’
कांग्रेस सांसद रिजालले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको दाबीलाई निवर्तमान सञ्चारमन्त्रीको अडियो प्रकरणले गिज्याएको जनाए। उनले यति हुँदा पनि प्रधानमन्त्री ओली राजामहाराजाले जसरी जन्मोत्सव मनाउन व्यस्त रहेको भन्दै आक्राेश पाेखे।