काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका हुन्।
आज अपरान्ह् ४ः३० मा मन्त्रालय मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए। मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए। उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए।
उनले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरुआत हुने औँल्याए। उनले नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको बताए। उनले भने, “विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ।” मन्त्री नेम्वाङले आजै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गरेका हुन्।