पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कडा आलोचना गरेका छन्। पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाएका हुन्।
गैरविषयलाई अङ्ग्रेजीमा नन इस्यू भन्छन् नि,’ सोमबार पोखरामा आयोजित गोप्य प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले भने, ‘कुखुराको एउटा चल्लाले के टिपेर कुना लाग्छ, अरुलाई के टिप्यो थाहा छैन, पछि लाग्छन्, यहाँ यस्तै भएको छ।’ प्रतिपक्षी भएको देखाउनकै लागि काँग्रेसले विरोध गरेको उनको आरोप छ।
फरक प्रसंगमा, कम्युनिष्टहरुको इतिहास लामो समयदेखि फरक–फरक विचार बोकेका पार्टीबीच एकता गर्दै विश्वकै कम्युनिष्ट आन्दोलन, प्रगतिशील आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनसँग जोडिएको उनले बताए। यसबाट अरु आन्दोलनले पनि शिक्षा लिन सकिने उनको भनाई छ।