काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन मनाउन मन्त्री तथा नेताहरु लिएर लावालस्करसहित आइतबार जन्मथलो तेह्रथुमको अठराई गाउँपालिकास्थित तीनसल्ले पुगे। ओलीले आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेर तामझामका साथ मनाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
त्यतिमात्र होइन ओलीले नेपालको नक्साको आकारमा बनाइएको केकबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन्।नेपालको नक्सालाई काटिएको भन्दै समाजिक सञ्जल प्रयोगकर्ताले विरोध गरिरहेका छन्। प्रधानमन्त्रीले केक काटेको विषयमा समर्थन गर्नेले भने भारत, अमेरिका, चीन लगायतका देशका प्रमुखहरुले ती देशका नक्शा र झण्डा अंकित केक काटेर जन्मदिन मनाएको तस्वीर सामाजिक सञ्जालमा राखिरहेका छन्।
नेकपाले जन्मदिन, पास्नी, व्रतबन्ध जस्ता संस्कारका कार्यक्रमलाई घरभित्रै सिमित गर्न र तडकभडक नगर्न दिर्नेशन जारी गरेको थियो तर अध्यक्षकै जन्मदिन तामझामका साथ गरिएको भन्दै आलोचना भएको हो। राजनीतिक विश्लेषक मुमाराम खनालले देशकै नक्सालाई केक बनाएर काट्दा हात कामेनन् भन्दै प्रश्न गरेका छन्। खनालले देखेर लाज मान्ने र मुटु कमाउने निरीह नागरिकमात्र भएको टिप्पणी गरेका छन्।
