धनगढी, २८ माघ – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्स सामु १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
उद्घाटन खेलमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो।
धनगढीका अमित श्रेष्ठले प्रतियोगितामा पहिलो अर्धसतक हान्ने क्रममा ४७ बलमा ५० रन बनाएर आउट भए । सन्दीप रजाईलीले २८, सौरभ खनालले २५, पवन सराफले १९ रन बनाए।
रशिद खानले धनगढी स्टार्सका सुनिल धमलालाई गौरव तोमारबाट क्याच गराए । उनले तिन रन बनाए । धनगढी स्टार्सका रोहन मुस्ताफलाई सोनु तामाङले शुन्यमा रनमा आउट गराए ।
बलिंगतर्फ काठमाण्डौका नन्दन यादवले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए भने ललित राजबंशी र अंकित दबासले समान १/१ विकेट हात पारे । अहिले काठमाडौँले जवाफी व्याटिङ थालेको छ।
सोमबार नै हुने दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्स र महेन्द्रनगर युनाईटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । रुपन्देही बसन्त रेग्मीको कप्तानीमा मैदान उत्रदा महेन्द्रनगर शरद भेषवाकरको कप्तानीमा मैदान उत्रिनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले सहभागिता जनाएका छन्।
कूल पुरस्कार राशी ६० लाख रहेको प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ, उपविजेताले १२ लाख रुपैयाँ, तेस्रो हुनेले ४ लाख रुपैयाँ तथा चौथो हुने टोलीले २ लाख रुपैयाँ पाउँनेछन् ।