काठमाडौँ, २८ माघ –इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटी फराकिलो जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति घरेलु मैदान इदिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीविरुद्ध ६-० गोल अन्तरको फराकिलो जित हात गरेको हो।
सिटीको जितमा अर्जेन्टाइन फरवार्ड सर्जियो अग्युरोले कीर्तिमानी ह्याट्रिक गरे। यस्तै सिटीका लागि रहिम स्टर्लिङले दुई तथा इल्केइ गुन्डोगानले एक गोल गरे।
खेलको चौथो मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई शुरुआती अग्रता दिलाएका थिए। सम्हालिन नसकेको चेल्सीले त्यसको ९ मिनेटमा पुनः गोल खायो। १३औँ मिनेटमा अग्वेरोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।
अस्तव्यस्त बनेको चेल्सीको रक्षापंक्तिमाथि हावी बनेको सिटीले १९औँ मिनेटमा अग्युरोको व्यक्तिगत दोस्रो गोलमार्फत अग्रता ३-० मा लम्ब्यायो। फितलो देखिएको चेल्सीको रक्षापंतीमा भारी परेको सिटीले त्यसको ६ मिनेट नबित्दै चेल्सीको पोष्टमा ४ गोल गर्यो।
खेलको २५औं मिनेटमा गुन्डुगानले गोल गर्दै सिटीको अग्रता ४-० बनाउँदा चेल्सीले १९९९ यता पहिलो पटक पहिलो हाफमा ४ गोल खायो।
पहिलो हाफमा ४ गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५६औँ मिनेटमा अग्युरोले प्रिमियर लिगमा आफ्नो ११औँ ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-०मा पुर्याए। यसका साथै अग्युरोले प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरसँग सर्वाधिक ११ ह्याट्रिकको कीर्तिमानी बराबरी गरेका छन्।
खेलमा सान्तवना गोलसमेत फर्काउन नसकेको चेल्सीले निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी हुँदा छैठौँ गोल खायो। जितसँगै सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ। सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो।
एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ। पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौँ स्थानमा धकेलिएको छ।