रुकुम (पूर्व), २८ माघ – रुकुम (पूर्व)को सदरमुकाम सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशमानसिंह राउतको आइतबारको पूर्ण इजलासले सो मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो ।
संविधानसँग बाझिने खालका मुद्दालाई सर्वोच्चले संवैधानिक इजलासमा पठाउने गरेको छ। सरकारले निर्णय गरिसकेको र सो निर्णय खारेजको मागसहित परेको मुद्दामा सर्वोच्चले लामो समय बहस गर्दै संवैधानिक इजलासमा पठाएको हो । मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले पेसी तोकेको छैन ।
संवैधानिक इजलासले सोमबार ११ बजे मुद्दाका पक्ष र विपक्षलाई बोलाएको समेत नयाँ पत्रिका दैनिकमा समाचार छ। गत वर्षको ११ माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले रुकुम पूर्वको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा तोक्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो।