काठमाडौँ, २७ माघ – वर्षाका कारण पहिलो दिनको खेल स्थगित भएपछि बुढासुब्बा गोल्डकपको नयाँ खेल तालिका सार्वजनिक भएको छ। वर्षाले शनिबार हुने भनिएको पहिलो दिनको खेल रोकिएपछि आयोजकले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।
नयाँ तालिकाअनुसार आइतबार हुने खेलमा संकटा क्लब र मेची नेत्रालयबीच प्रतिस्पर्धा हुनेछ। सोमबारको दोस्रो खेलमा पुलिस र साहारा क्लब भिड्नेछन्। फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल धरान-१६ स्थित रंगशालामा हुनेछ।
धरान फूटबल क्लबले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन्। विजेताले नगद ८ लाख पाउनेछ। त्यस्तै उपविजेताले ४ लाख रूपैयाँ प्राप्त गर्नेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ। त्यस्तै सर्वाधिक गोलकर्तालाई ३५ हजार रूपैयाँ प्रदान गरिनेछ। साथै, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
आयोजकका अनुसार उदीयमान खेलाडीलाई पनि हौसलास्वरूप नगद १५ हजार प्रदान गरिनेछ। प्रतियोगिता हेर्न आउनेमध्ये एक जना भाग्यशाली दर्शकलाई पनि एउटा बाइक पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ।