काठमाडौँ, २७ माघ – वर्नमाउथविरुद्ध ३-० को फराकिलो जीत निकाल्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा भएको खेलको २४औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई शुरुआती अग्रता दिलाएका थिए।
आक्रामक शैलीमा प्रस्तुत भएको लिभरपुलले ३४औँ मिनेटमा विनाल्डमको गोलमार्फत अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २ गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफको तेस्रो मिनेटमा पुनः १ गोल थप्यो।
खेलको ४८औँ मिनेटमा प्रिमियर लिगका सर्वाधिक गोलकर्ता माेहम्मद सलाहले गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे। सलाहले यस सिजन मात्र प्रिमियर लिगमा १७ गोल गरिसकेका छन्।
जीतसँगै एक खेल अघि दोस्रो स्थानमा धकेलिएको लिभरपुलले २६ खेलबाट ६५ अंक जोड्दै शीर्ष स्थानमा पुनरागमन गरेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ६२ अंक छ।
शनिबार नै सम्पन्न अन्य खेलहरुमा फुल्हामविरुद्ध म्यानचेस्टर युनाइटेड ३-० गोलले विजयी भएको छ। त्यस्तै, साँझ ७ः४५ बजे एकै समय सम्पन्न ६ खेलमा क्रिस्टल प्यालेस र वेस्ट ह्याम बराबरी रोकिँदा हडर्शफिल्ड घरेलु मैदानमा आर्सनलसँग स्तब्ध बन्यो।
आर्सनललाई २-१ को संघर्षपूर्ण जीत दिलाउन आओबी र लाकाजेटीले १-१ गोल गरे। त्यस्तै सोही समयमा सम्पन्न अन्य खेलहरूमा साउथह्याम्पटनविरुद्ध कार्डिफ २-१ ले तथा एभर्टनविरुद्ध वाटफोड १-० ले विजयी भए। बर्नलीले पनि ब्राइटनको घरेलु मैदानमा ३-१ को शानदार जित हात पारेको छ।