काठमाडौँ, २७ माघ – स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ। एथ्लेटिको मड्रिडको घरेलु मैलान मेट्रो पोलिटानोमा भएको खेलमा रियलले घरेलु टोली एथ्लेटिकोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा तीन फरक खेलाडी क्यासिमिरो, सर्जियो रामोस र गेराथ बेलले एक–एक गोल गरे। खेलको १६औँ मिनेटमा क्यासिमिराको गोलबाट रियलले शुरुआती अग्रतालिएको थियो। त्यसको १० मिनेट नबित्दै एथ्लेटिकोका ग्रिजम्यानले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए।
पहिलो हाफको खेल सकिन २ मिनेट बाँकी हुँदा रियलले पाएको पेनाल्टीको सदुपयोग गर्दै रियलका कप्तान रामोसले पुनः पाहुना टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा २–१ गोलको अग्रता लिएको रियललका लागि खेलको ७४औँ मिनेटमा बेलले तेस्रो गोल गदै जित सुनिश्चित गरे।
यस्तै निर्धारित समयको खेल सकिन १० मिनेट बाँकी हुँदा एथ्लेटिकोका मिडफिल्डर थोमसले रातो कार्ड पाएपछि घरेलु टोली अन्तिम १० मिनेट १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले २३ खेलबाट ४५ अंक जोडेको छ। समान खेलबाट ४४ अंक जोडेको एथ्लेटिकोलाई १ अंले पछाडी पार्दै रियलै दोस्रो स्थानमा उक्लिएको हो। बार्सिलोना ५० अंकका साथ शीर्ष स्थानमा रहेको छ।