काठमाडौँ, २६ माघ– शनिबारबाट शुरु हुने भनिएको डीपीएल वर्षाका कारण दुई दिन पछाडी सरेको छ। सोमबारबाट हुने भनिएको प्रतियोगिताकमा सदा झैँ यसपाली पनि ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। ६ फरक टोली धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले एउटै लक्ष्यका लागि प्रतिस्पर्धा गर्नेछन्। यसै विषयका ६ वटै क्लबका कप्तान र उपकप्तानले उपाधि जित्ने दावी गरेका छन्।
सोमपाल कामी (कप्तान, धनगढी स्टार्स)
उपाधि रक्षा गर्न चुनौती छ। यसअघि दुवै संस्करण हामीले जितेका थियौँ। यो तेस्रो पटक भएकोले हामीलाई दबाबका साथै पनि चुनौती छ। नयाँ टिम ल्याएर खेल्दा चुनौती त भइहाल्छ। तर, हामी टिममा विश्वास गर्छौँ। पानीको कारण क्याम्प भईरहेको छैन। नेट अभ्यास गर्न जाने योजनाहरु पानीले पुरा भएन। तर, खेलाडीहरुले फिटनेस क्याम्प गरिरहेका छ। होटलमा बसेर क्रिकेटकै बारेमा छलफल गरिरहेका छौँ। खेलका लागि तयार छौँ।
दिपेन्द्र सिंह ऐरी (कप्तान, सिवाईसी अत्तरिया)
टिम तयारी राम्रो छ। विदेशी प्रशिक्षकहरुको उपस्थितिले प्रतियोगितालाई अझ रोचक हुने आशा छ। विदेशी खेलाडी सन्नी पटेल र जयकिशन कोल्शावालाले पीपिएलमा आफूलाई प्रमाणित गरिसकेका छन्। यसअघिका दुवै प्रतियोगितामा राम्रो प्रदर्शन गरेको हुनाले हाम्रो युवा टिममा विश्वास छ। सबैले राम्रो गरिरहेको छ। हाम्रो लक्ष्य उपाधि जित्ने रहेको छ।
करण केसी (कप्तान, विराटनगर किंग्स)
तयारी राम्रो भईरहेको छ। वर्षाले अलिक बिगार्यो तर अभ्यास निरन्तर गरिरहेका छौँ। दुई विदेशी खेलाडी अभिनास यादव र शिवकान्त शुक्लाका साथमा टिम सन्तुलित छ। तर, विदेशी खेलाडी धेरै निर्भर नहुँदा पनि टिम राम्रो छ। पहिलो पटक टिम कप्तान चुनिएको छु। खुशी लागेको छ। अब राम्रो प्रदर्शन गरेर अगाडी लैजाने योजना छ। टिमको लक्ष्य डीपीएल ट्रफी उचाल्ने रहेको छ।
विक्रम शोव (उपकप्तान, रुपन्देही च्यलेञ्जर्स)
विशेष उत्साहका साथ तयारी गरिरहेका छौँ। हाम्रा प्राय अधिकांस खेलाडी यूएईमा रहेको भएपनि हामीले भैरहवामा नै तयारी गरिरहेका थियौं। ब्याटिङ, फिल्डिङ र बलिङ सबै उत्कृष्ट छ। विदेशी खेलाडी बाबर हायातमाथि हामी सबैको आशा छ। अन्य विदेशी खेलाडीहरूको उपस्थितिले टिमको आत्मविश्वास बढेको छ। हाम्रो लक्ष्य डीपीएल उपाधि जित्ने हो, हामी जित्छौँ।
आरिफ शेख (उपकप्तान, महेन्द्रनगर युनाइटेड)
प्रतिकुल मौसमका कारण मैदानमा प्रवेश गर्न नपाए पनि जिम र फिटमा तयारी गरिरहेका छौँ। ट्रफी उठाउने लक्ष्य सबैको हुन्छ। हामीले पनि त्यसै अनुसार तयारी गरेका छौँ। हाम्रो टिम एकदमै सन्तुलित छ। त्यो सन्तुलनलाई मैदानमा प्रस्तुत गर्ने कोसिस गर्नेछौँ।
अनिल कुमार साह (उपकप्तान,काठमाडौं गोल्डेन्स)
आवश्यकता अनुसारको तयारी गरेका छौँ। खेलाडीहरुले व्यक्तिगत रुपमा समेत तयारी गरिहेका छन्। हाम्रो टिमको बलिङमा विविधता छ। ब्याटिङ लाइनअप पनि बलियो छ। अनुभवी खेलाडीहरुका साथमा विदेशी खेलाडीहरुको उपस्थितिलाई मुख्य हतियार बनाएर ट्रफी जित्ने हाम्रो चाहना हो।