काठमाडौँ, २४ माघ – अखिल नेपाल फूटबल संघ (एन्फा) ले आयोजना गर्न लागेको शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिगता शुक्रबारदेखि शुरु हुँदैछ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम पहिलो खेलमा जित हात पार्दै प्रतियोगिताको सु:खद शुरुवात गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदै छन्। त्यस्तै, शुक्रबार नै हुने अर्को खेलमा टुसाल युथ क्लबले श्री बागमती क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
कुल १२ टिम लिगले लिगमा सहभागिता जनाउने छन्। समूह ‘ए’मा झम्सिखेल युथ क्लब, आरसीटी, श्री कुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन रहेका छन्। त्यस्तै, समूह बी मा टुसाल युथ क्लब, पुलचोक स्पोर्टस् क्लब, मध्यपुर युथ एसोसिएसन, खुमालटार युवा क्लब, बाँसबारी क्लब र श्री बागमती क्लब रहेका छन्।
लिगको समूह चरण राउन्ड रोविनको आधारमा हुनेछ। एउटा टिमले समूहमा पाँच वटा खेल खेल्नेछ । समूहको शीर्ष दुईमा पर्ने टिमले फाइनल राउन्डमा प्रवेश गर्ने छन्। फाइनल राउन्डमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। फाइनल राउन्डमा समूह चरणको अंक भने जोडिने छैन।
विजेता टिमले नगद आठ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता बन्ने टिमले पाँच लाख नगद प्राप्त गर्ने छ। त्यस्तै, तेस्रो हुनेले तीन लाख र चौथो हुनले दुई लाख नगद प्राप्त गर्ने छ।
प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टिमलाई ७ लाखको दरले बजेट दिएको थियो। विना रेलिगेसनमा हुन लागेको लिगमा पुछारका दुई टिमलाई अर्को वर्ष हुने लिगमा एक अंक काटिनुका साथै ५० हजार नगद पनि कटौती गरिने एन्फाले बताएको छ।