काठमाडौँ, २५ माघ – फिफाले बिहीबार सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ। यूएईमा केही दिनअघि सम्पन्न एसियन कपको च्याम्पियन बनेकाे कतारले बरियतामा ठूलो छलाङ मारेको छ।
एसियाको पावर हाउस मानिने राष्ट्रहरुलाई आश्चर्यचकित पार्दै ऐतिहासिक एसियन कपको उपाधि उचालेको कतार ३८ स्थानमाथी उक्लीदै विश्व बरियताकाे ५५औँ स्थानमा उक्लिएको हो।
बेल्जिम शीर्ष स्थानमै यथावत रहेको छ। त्यस्तै, दोस्रो स्थानमा विश्वविजेता फ्रान्स रहेको छ। त्यस्तै ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौ स्थानमा इंग्ल्यान्ड तथा छैटौं स्थानमा पोर्चुगल रहेका छन्।
उरुग्वे सातौँ स्थानमा रहँदा स्वीट्जरल्यान्ड आठौं स्थानमा, स्पेन नवौं र १० औं स्थानमा डेनमार्क रहेका छन्। एसियाली मुलुक भारत फिफा बरियतामा ६ स्थान तल झर्दै १०३औं स्थानमा धकेलिएको छ। दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स १५२औँ स्थानमा रहँदा भुटान १८६औँ, बंगलादेश १९२ औँ, पाकिस्तान १९९औं र श्रीलंका २०१औँ स्थानमा छन्।