मेलम्ची, २५ माघ – पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको विकास नहुनुको प्रमुख कारण राजनीतिक आडमा भ्रष्टाचार मौलाउँदै रहेको बताएका छन्।
भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको बताएका छन्।
नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा भएको कार्यक्रममा भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न माथिल्लो निकायबाटै शुद्धीकरण थाल्नुपर्ने बताए।
विभिन्न राजनितिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राखेका छन्।
स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनीतिज्ञका गुण, सङ्घीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिएका छन्।