काठमाडौँ, २४ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको पदावधि समाप्त भइसकेकाले वर्तमान केन्द्रीय समितिलाई निरन्तरता नदिने मनस्थितिमा पुगेको छ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
संघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ। संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो। यस परिस्थितिमा संघको कार्यसमिति सम्बन्धमा यथावत अवस्थामै समावधि बढाउने वा अर्को समिति बनाउने बारेमा छलफल जारी रहेको बताउँदै प्रवक्ता शर्माले भने, ‘यस सम्बन्धमा शुक्रबारसम्ममा टुङ्गोमा पुग्छाैँ।’
केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यले संघको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए। संघको विधानमा उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था गदिएको छ। सो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने उनको तर्क छ।
त्यस्तै, कांग्रेसको गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो। महासमिति बैठकमा मुख्य गरी केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटक मात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो।
यसमा पनि पक्ष र विपक्षमा दुवै थरीका धारणा आएको प्रवक्ता शर्माले जानकारी दिए। बैठकमा यसबाहेक सरकारका कामकारवाही र समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको बताइएको छ। (रासस)