काठमाडौँ, २४ माघ – सन् २००९ मा सर्वाधिक महँगो खेलाडी भएर मड्रिड पुगेका क्रिस्टियानो रोनाल्डो स्पेनिस फूटबलमा ९ वर्ष बिताएर गतवर्ष इटाली लागे। त्यस्तै, चोटका कारण अर्का विश्व प्रसिद्ध फूटबलर लियोनल मेसी बार्सिलोनामै भएपनि टिमको शुरुआती एघारमा नपरेपछि बुधबार रातिको दुई स्पेनिस ह्याभिवेटबीचको घम्साघम्सी केही फिका महशुस गरिएको थियो।
रोनाल्डो रियलमा हुँदा र मेसीले बार्सिलोनाबाट खेल्दा विश्व फूटबल जगतका दुई ठूला क्बलमात्र नभई दुई दिग्गज खेलाडीको प्रतिस्पर्धाले पनि ‘एल क्लासिको’लाई थप रोचक बनाउँथ्यो। रोनाल्डोले रियल छाड्नु र मेसी चोटका कारण मैदानबाहिर रहनुले यो पटकको ‘एल क्लासिको’मा नयाँ खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने अवसर त थियो नै खेलजीवनको उत्तरार्धतर्फ लम्किरहेका मेसी र रोनाल्डोबिना पनि यी दुई क्लबको प्रतिस्पर्धालाई रोचक बनाइराख्न सकिन्छ भन्ने साबित गर्नुपर्ने चुनौती पनि थियो।
रियल मड्रिडमा हेर्ने हो भने भिन्सस जुनियर, मार्को एसेन्सियो, म्यारियानो डियाज लगायतका खेलाडीहरूमा क्लबले अर्का रोनाल्डो खोजी रहेको छ। त्यस्तै, निरन्तर मैदान उत्रिरहे पनि ३१ वर्ष नाघिसकेका मेसीको उत्तराधिकारीको आशा युवा खेलाडीहरूमा बार्सिलोनाले पक्कै राखेको छ। आर्थर, मालकोम र डेम्बेले जस्ता क्षमतावान् युवा फरवार्डहरूको जमात् रहेको बार्सिलोनाले यीनैमध्येबाट कसैलाई मेसीको उत्तराधिकारीको रुपमा पक्कै देख्न चाहन्छ।
रोनाल्डो र मेसी, विश्व फूटबल जगतका दुई ठूला नाम। जसले व्यवसायिक फूटबल खेलाडीले जित्नु पर्ने सबै प्रतियोगिता मात्रै होइन, फूटबल विधामा दिइने सर्वोत्कृष्ट अवार्ड ‘बालोन डि’ओर’ पनि सर्वाधिक ५-५ पटक जितेका छन्।
बुधबार रातिको खेलमा घरेलु टोली बार्साले युवास्टार माल्कोमलाई मेसीकाे स्थान मैदानमा उतार्यो। त्यस्तै रियल मड्रिडले रोनाल्डोलाई बेचेपछि भित्र्याएका १८ वर्षीय भिन्सस जुनियरलाई उनकै स्थानमा उतार्यो। उनीहरूकाे बुधबार रातिको प्रदर्शनीकै आधारमा यी दुई खेलाडीलाई बिग गेम प्लेयरको रुपमा हेर्न थालिएको छ।
रोनाल्डो युभेन्टस् गएसँगै २००७ पछिको दोस्रो ‘एल क्लासिको’ रह्यो जुन खेलमा दुवै खेलाडी शुरुआती ११ मा परेनन्। तर दुई नयाँ ब्राजिलियन स्टारहरूको उपस्थितिले खेलमा फरक रौनक भने पक्कै थपेको थियो। शनिबार भएको भ्यालेन्सियाविरुद्धको खेलमा मेसी घाइते भएपछि गत महिना लगभग क्लब छाड्ने तयारी गरिसकेको माल्कोमले मड्रिडविरुद्धको खेलको शुरुआती ११ मा परे।
रियलमा आफूलाई स्थापित गरिसकेका भिन्सस रियलका महत्वपूर्ण खेलाडीको रुपमा मैदानमा उत्रिए। भिन्ससले शुरुआत गरेका अन्तिम १० मध्ये ८ खेल जितेको रियलले समर्थकहरूको आग्रहमा बार्साविरुद्ध गेराथ बेलको स्थानमा उनैलाई उतारेको हो।
खेलको छैठौँ मिनेटमा लुकास भास्केजले गरेको गोलमा प्रत्यक्ष रुपमा संलग्न रहेका भिन्ससले खेल अवधिभर आफ्नो प्रभाव कायम राखे। गोलको केही मिनेट पश्चात नै मलाई केहीको डर छैन म कोहीसँग डराउँदिन भन्ने भिन्ससलाई रोक्न बार्साका अनुभवी डिफेण्डर पिकेले आफ्नो पूरा अनुभवको प्रयोग गर्नु परेको थियो।
सिजनको १ मात्र लिगको खेलमा शुरुआत गर्ने मौका पाएका माल्कोमले २७ औं मिनेटमा फ्रि-किकमार्फत आफ्नो उपस्थिति दाखिला गरेका थिए। खेलमा महत्वपूर्ण साबित भएका माल्कोमले अन्ततः ५७ औँ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए। खेल सकिए पश्चात निरन्तर शुरुआतका लागि संघर्षरत माल्कोमलाई यो गोलले मद्दत गर्ने बार्साका प्रशिक्षक भल्भार्दैले आशा व्यक्त गरेका छन्।
अर्कोतर्फ समय-समयमा अपरिपक्वता झल्किने र फिनिसिङमा देखिने अस्थिरतालेको कारणले भिन्ससले खेलकै क्रममा मार्सेलोको गाली खाएका थिए। यद्यपि भिन्सस बार्साविरुद्धको खेलमा रियलका लागि अत्यन्तै महत्वपूर्ण खेलाडी साबित भए।
अनौपचारिक परिक्षा जस्तो खेलमा दुवै ब्राजिलियन उदीयमान स्टारहरू परिवर्तन गरिए। गेराथ बेलले ६४ औँ मिनेटमा भिन्ससको स्थान लिएका थिए। त्यसको १२ मिनेट पश्चात प्रतिस्थापन गरिएका माल्कोमले दर्शकको ठूलो गर्जन पाएका थिए।
ठूलो खेलमा आकर्षक खेल प्रस्तुत गरेका भिन्सस र माल्कोमलाई आउँदा दिनहरूमा मेसी र रोनाल्डोको उत्तराधिकारीको रुपमा देख्न सकिने र देख्न चाहेका फूटबल समर्थकहरुका प्रतिक्रिया सामाजिक सञ्जालमा यत्रतत्र देखिन थालेका छन्।