काठमाडौँ २४ माघ – स्पेनिस कप प्रतियोगिता कोपा डेल रे अन्तर्गत बुधबार राति सम्पन्न खेलमा २ स्पेनिस ह्याभिवेट रियल मड्रिड र बार्सिलोना पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएका छन्।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नउ स्टेडियममा भएको खेलको छैठौँ मिनेटमा पाहुना टोली मड्रिडले लुकास भास्केजको गोलबाट शुरुआती अग्रता लिएको थियो। फ्रेन्च फरवार्ड करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै मास्केजले गोल गरेका थिए।
स्टार खेलाडी मेसीलाई शुरुआती ११ मा नराखेको घरेलु टोली बार्सिलोना ५७औँ मिनेटमा माल्कोमको गोलमार्फत खेलमा फर्कियो। चोटका कारण दोस्रो हाफको ६३औँ मिनेटमा मात्र मैदान उत्रेका मेसीले केही करिश्मा गर्न नसक्दा घरेलु टोली बार्सिलोना एल क्लासिकोमा जित निकाल्नबाट वञ्चित रह्यो।
यी दुई क्लबबीचको दोस्रो लेगको खेल फेब्रुअरी २८ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाविउमा हुनेछ। यसअघिका निरन्तर ४ कोपा डेल रेको उपाधि बार्सिलोनाले उचालेको थियो। घरेलु मैदानमा अग्रता बनाउन नसकेको बार्सिलोनालाई रियलको मैदानमा जितका लागि थप संघर्ष गर्नुपर्ने भएको छ।