काठमाडौँ, २४ माघ – साबिक विजेता म्यान्चेस्टर सिटी प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति सम्पन्न खेलमा एभर्टनलाई २–० ले हराउँदै सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
लामो समय लिग लिडर रहेको लिभरपुल पछिल्ला २ खेलमा बराबरीमा रोकिँदा सिटीलाई फाइदा पुगेको हो। डिसेम्बरमा दोस्रो स्थानमा धकेलिएको सिटीले २६ खेलबाट १ खेल कम खेलेको लिभरपुलसँग अंक बराबरी गर्दै गोल संख्याका आधारमा शीर्ष स्थान कब्जा गरेको हो।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा नेपाली समयअनुसार राति १ः३० बजे शुरु भएको खेलको पहिलो हाफमा सिटीले १–० गोलको अग्रता लिएको थियो। पहिलो हाफको अतिरिक्त समयमा डेभिड सिल्भाको पासलाई सदुपयोग गर्दै डिफेन्डर आर्मेरिक लापोर्टेले पहिलो हाफको अन्तिम समयमा सिटीलाई शुरुआती अग्रता दिलाएका थिए।
खेलमा फर्किन निरन्तर कोसिस गरेको एभर्टनले दाेस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल खाएपछि घरेलु मैदानमा स्तब्ध भएको हो। सिटीका लागि ब्राजिलियन फरवार्ड ग्याब्रियल जिससले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरे।