काठमाडौँ, २३ माघ – धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ।
यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी हुने काठमाडौँलाई प्रायोजन गरिएकाे सम्झौता रकम भने खुलाइएको छैन।
बुधबार आयोजित एक कार्यक्रममा कलेजका प्रमुख सुलभ बुढाथोकी र काठमाडौँ टोलीका प्रमुख रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे। यस सम्झौतासँगै काठमाडौँ गोल्डेन्स टोलीले अब काठमाडौँ गोल्डेन्स इस्लिङटन कलेजको नामबाट डिपिएल खेल्नेछ।
उक्त कार्यक्रममा प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीको विदाई समेत गरियो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको उक्त टोली साविक उपविजेता पनि हो। फाइनल खेलमा धनगढीले काठमाडौँलाई पराजित गरेको थियो।
यस्तै काठमाडौँले विदेशी खेलाडीका रूपमा भारतीय ब्याट्सम्यान गौरव तामोर र अलराउन्डर अङ्कित दभासलाई समेत अनुबन्ध गरेको जनाएको छ। डिपिएलमा काठमाडाैँसहित, रुपन्देही च्यालेन्जर्स विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन्।(रासस)