काठमाडौँ, २३ माघ – फेब्रुअरी ६ लाई विश्व फूटबल इतिहासमा कालो दिन को रूपमा लिइन्छ। जसको कारण हो, सन् १९५८ मा वेस्ट जर्मनीको म्युनिखमा भएको ब्रिटिस युरोपियन एयरवेजको विमान दुर्घटना। चार्टर गरिएको उक्त विमान रेइम् विमानस्थलमा दुर्घटना हुँदा म्यानचेस्टर युनाइटेड क्लबका सात जना खेलाडीहरुको मृत्यु भएको थियो।
म्याट बस्बीले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि ब्याक टु ब्याक प्रथम डिभिजन च्याम्पियन बनेको उक्त टोलीलाई बस्बी बेब्स उपनाम दिइएको थियो। युरोपियन कपको सेमिफाइनलमा पुग्नका लागि तत्कालीन युगोस्लाभियाको रेड स्टार बेलग्रेडसँग ३–३ गोलको बराबरी खेलेर फर्किने क्रममा उक्त टिम जर्मनी आइपुगेको थियो।
इन्धन भर्न म्युनिखमा अवतरण गरिएको उक्त विमानले दुर्घटना हुनुअघि उडानका लागि २ पटक असफल प्रयास गरेको थियो। तेस्रो प्रयासमा विमान उड्न त उड्याे। तर अत्यधिक वेगका कारण अनियन्त्रित भई एउटा घर र केही रुखहरूमा ठोक्किएपछि विमानमा आगो लागेको थियो। पाइलट जेम्स थाहेन र चालक दलका सदस्यले युनाइटेडका गोलकिपर ह्यारी ग्रेगको सहयोगमा केही प्यासेन्जरलाई विमानबाहिर निकाल्न सफल भएका थिए।
दुर्घटनामा मृत्यु हुने खेलाडीहरुमा २१ वर्षीय एडी कोलम्यान, २२ वर्षीय लियाम वेलान, २२ वर्षीय डेभिड पेग, २४ वर्षीय मार्क जोन्स, २५ वर्षीय जियोफ बेन्ट, २६ वर्षीय टमी टेलर र २८ वर्षीय कप्तान रोजर ब्रायन रहेका थिए। पेग, टेलर र ब्रायन इंग्लिस तथा वेलान आयरिस अन्तर्राष्ट्रिय खेलाडी थिए।
८ जना पत्रकार, ३ जना इंग्लिस ब्याकरुम स्टाफ र अन्य २ जना यात्रुले पनि सोही दुर्घटनामा ज्यान गुमाएका थिए। गम्भीर घाइते भएका युनाइटेडका स्टार खेलाडी तथा इंग्लिस इन्टरनेशनल खेलाडी डंकल एडवार्डको भने १५ दिनपछि मृत्यु भएको थियो।
दुर्घटनामा बाँचेका दुई खेलाडी जोनी बेरी र ज्याकी ब्लान्चफ्लावरले त्यसपछि कहिल्यै फूटबल नखेल्ने निधो गरे। टोलीका प्रशिक्षक म्याट बस्बी निरन्तर २ महिनाको उपचार पश्चात घर फर्किएका थिए।
उक्त दुर्घटनाबारे केही अनौठा कुराः
– युनाइटेडको उक्त युवा टोलीे १९५६ र १९५७ मा ब्याक टु ब्याक इंग्ल्याण्डको च्याम्पियन बनेको थियो। र, सिजनका १४ खेल खेलेको युनाइटेड वोल्भ्सभन्दा ६ अंकले पछाडि रहँदै दोस्रो स्थानमा थियो।
– उडानका लागि गरेको दोस्रो प्रयास र भयानक दुर्घटनाबीचको समयमा भारी हिमपात भइरहेको थियो। त्यो समयमा डंकन एडवार्डले गृहिणीलाई सबै उडान रद्द भएको उल्लेख गर्दै टेलिग्राम पठाएका थिए।
– दुई पटकको प्रयास असफल भएपछि खेलाडीहरु तेस्रो प्रयासका लागि विमानमा चढ्दै गर्दा त्रसित देखिएका थिए। त्यसै कारण उडानभन्दा अगाडि विमान दुर्घटना भएपनि सुरक्षित हुने आशामा टेलर, जोन्स, कोलम्यान र एडवार्ड पहिले बसेको स्थान परिवर्तन गरी विमानको पछाडिको सिटमा गएर बसेका थिए।
– विमानले अन्तिम उडानका लागि रन लिँदै गर्दा क्याथोलिक भक्त वेलानले भनेका थिए, ‘यदि यो मृत्यु हो भने, म यसका लागि तयार छु।’
– मृत्यु भएका पत्रकारमध्ये ‘न्युज अफ द वर्ल्ड’का पत्रकार फ्रान्क स्विफ्ट म्यानचेस्टर सिटीका पूर्वगोलकिपर थिए। उनले इंग्ल्याण्डका लागि १९ खेल खेलेका थिए।
– युनाइटेडले उक्त सिजन बस्बीका असिस्टेन्ट जिम्मी मर्फीको नेतृत्वमा टुंग्याएको थियो। पुनर्जीवित हुँदै गरेको युनाइटेड सोही सिजन एफ कपको फाइनलमा पुगेको थियो। दुर्घटनामा परेर बाँचेकामध्ये ४ जना खेलाडीलाई मैदानमा उतारेको घायल युनाइटेड वेम्ब्ली स्टेडियममा बोल्टन वाण्डर्ससँग २-० ले पराजित भएको थियो।
– दश वर्षपछि सोही मैदानमा बस्बीले आफ्नो सपना पूरा भएको महशुस गरेका थिए, जब युनाइटेड युरोपियन कप जित्ने पहिलो इंग्लिस क्लब बन्यो। म्युनिख दुर्घटनामा परेका बबी चार्लटन र बिल फल्क्स दुवै खेलाडी खेलेका फाइनलमा युनाइटेडले बेनिफिकालाई ४-१ गोलले पराजित गरेको थियो।
– दुर्घटनाको २ वर्ष नबित्दै युनाइटेडले दिएको घरबाट बेरी र ब्लेन्चफ्लावर दुवैलाई हटाइएको थियो।
https://twitter.com/ManUtd/status/1093041714305138693
(एजेन्सीहरूकाे सहयाेगमा)