धनकुटा, २२ माघ –नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले पार्टी कमजोर हुँदा मुलुकलाई नै ठुलो क्षति भएको बताएका छन्। मंगलबार धनकुटामा आयोजित भेलालाई सम्बोधन गर्दै सिटौलाले पार्टीलाई शक्तिशाली र ठूलो बनाउन कांग्रेसको मुहान नै सुधार्नु पर्ने बताए।
कांग्रेस नेताकार्यकर्ताको भेलामा बोल्दै उनले पार्टी कमजोर भएकै कारण वर्तमान सरकार अलोकतान्त्रिक हुन थालेको बताए। उनले भने, ‘ओली सरकारलाई लोकतान्त्रिक मार्गमा ल्याउन र मुलुकमा आर्थिक अभियान संचालन गर्नकै लागि पनि कांग्रेस शक्तिशाली बन्नैपर्छ।’
पार्टीमा गुट उपगुटको अन्त्य गर्नका लागि नयाँ ढंगले संगठित हुन आवश्यक रहेको पनि सिटौलाले औंल्याए। त्यसका लागि क्षमताका आधारमा सबैलाई अवसर, सहभागिता र जिम्मेवारी दिनु पर्ने उनको भनाइ थियो।
नेता सिटौलाले मुलुक र युवाहरुको भविष्यका लागि कांग्रेसलाई सुधार्न अब युवाहरुले नै जिम्मेवारी लिनु पर्ने बताए।