काठमाडौँ, २२ माघ – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्।
लाओ पिपुल्स रिभोलुसनरी पार्टीको निमन्त्रणामा गत माघ १६ गते जनवादी गणतन्त्र लाओस गएका नेता नेपाल आज स्वदेश फर्किएका हुन्।
नेकपा र रिभोलुसनरी पार्टीका साथै दुवै देशबीच सम्बन्ध सुधारबारे नेता नेपालले त्यहाँका उपराष्ट्रपति फाँखाम भिफाभान्हसँग छलफल गरेका थिए। लाओसमा नेपाली प्रतिनिधिमण्डल ‘नेशनल एकेडेमी अफ पोलिटिकल एण्ड पब्लिक एडमिष्ट्रेशन’को कार्यक्रममा पनि सहभागी भएको थियो ।
उक्त प्रतिनिधिमण्डलले ल्वाङ प्रोमाङ प्रदेशका सरकार र राजनीतिक दलसँग सरकार सञ्चालनबारे छलफल गर्नाका साथै नामजिमनाम हाइड्रोपावरकोसमेत अवलोकन गरेको थियो। गत सोमबार लाओ पार्टीका विदेश विभाग प्रमुख सुनथोङ सायादापसँग पनि नेता नेपालले भेटवार्ता गरेका थिए।
प्रतिनिधिमण्डलमा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर सहभागी थिए। (रासस)