जाजरकोट, २२ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले सातैवटा स्थानीय तहमा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टी एकता भएको लामो समय बितिसक्दा पनि गाउँमुखी बन्न नसकेको भन्दै पार्टीकै नेता कार्यकर्ताले गुनासो गरिरहेका बेला पहिलो पटक पार्टीको पालिका भेला हुन लागेको हो।
पार्टी एकताका लागि बनेको कार्यदलका संयोजक भैरवसुन्दर श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले जिल्लाका सातै स्थानीय तहमा पार्टीको विशेष अभियानात्मक कार्यक्रम गर्ने निर्णय गरेको हो।
पार्टी एकताको सन्देश गाउँ-गाउँमा पुर्याउन, अगुवा कार्यकर्तालाई पार्टी एकता, वर्तमान सरकारले जनताको पक्षमा गरेका कामको जानकारी दिन र संगठन सुदृढीकरण तथा निर्माण अभियानका बारेमा प्रशिक्षण दिन भेला आयोजना गरिएको संयोजक श्रेष्ठले जानकारी दिए।
उनले बुधबार हुने पालिकास्तरीय भेलालाई सञ्चालन गर्न केही केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएको बताए। नेता श्रेष्ठका अनुसार भेरी नगरपालिकाको भेलाका लागि नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ, जुनीचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नलगाड नगरपालिकामा नेता गोविन्दविक्रम शाह, वारेकोट गाउँपालिकामा केन्द्रीय सदस्य रामदीप आचार्य र कुसे गाउँपालिकामा केन्द्रीय सदस्य नीरज आचार्यलाई समन्वय, सहजीकरण र प्रशिक्षण गर्ने नेताका रुपमा तोकिएको छ।(रासस)