विराटनगर, २१ माघ –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न थालेको भन्दै कांग्रेसले देशभर सोमबार विरोध प्रदर्शन गरेको हो।
देशमा भ्रष्टाचार, महङ्गी, बलात्कार बढेको भन्दै कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको हो। यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको पनि कांग्रेसले आरोप लगाएको छ। आफूहरूकाे मागविपरीत चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पास गरेकोमा पनि कांग्रेस रुष्ट बनेको हो।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दुई तिहाइको सरकारले जनअपेक्षा अनुसार काम गर्ला भनी आशा गरेभन्दा उल्टो दिशातर्फ सरकार हिंडेको आरोप लगाए।
विरोध प्रदर्शनमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि सहभागी थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु हसन अन्सारी, शिव नारायण सिंह गनगाई, सुर्यमाराज राई, रामनारायण मण्डल, शोभा पालुहाङ लगायतका वक्ताहरुले विधिको शासनको पूर्ण पालना र राज्य सञ्चालन पारदर्शी हुनुपर्ने माग गरे।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित विरोध सभामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले कम्युनिष्ट सरकारले अहिलेकै जस्तो रवैया देखाए सडकबाटै ढाल्ने चेतावनी दिएका छन्। उनले कम्युनिष्ट सरकारका कारण खतरामा परेको लोकतन्त्र बचाउन कांग्रेसले आन्दोलन गर्नु परेको बताए।
विरोध सभामा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, नरेन्द्र चौधरी, प्रदेश नं. १ का संसदीय दलका नेता राजीव कोइराला, सांसद सीताराम मेहता, सांसद् मीना सुब्बा, प्रदेश सांसद नवोदिता चौधरी, युवा नेता हेमकर्ण पौडेल लगायतले बोलेका थिए।