धनकुटा, २१ माघ –प्रतिनिधि सभाको बैठकमा कांग्रेसले सडक र सदनबाट सरकारलाई प्रतिपक्ष देखाउने घोषणा गरेलगत्तै सोमबार देशका बिभिन्न स्थानमा प्रर्दशन गरेको छ।
महङ्गी, भ्रष्टाचार, करवृद्धिलगायत दिन प्रतिदिन सरकारले जबर्जस्ती जनताविरोधी निर्णयहरु गरेको भन्दै धनकुटामा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय शहीद भिमनारायण स्मृति भवनबाट निकालेको विरोध ¥यालीले बजारको विभिन्न भागहरुको परिक्रममा गरेको थियो। त्यसपछि धनकुटा बसपार्कमा आयोजित विरोध सभामा कांग्रेसका नेताहरुले सम्बोधन गरेका थिए।
नेपाल ट्रेड युनियन कांग्रेसका निवर्तमान केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले ओली सरकार संसदीय प्रणालीलाई नै ध्वस्त बनाउन लागेको बताए। उनले भने, ‘ओली सरकार जबर्जस्ती असंवैधानिक र अधिनायकवादी शैलीबाट अगाडि बढेकाले बाध्य भएर सडकमा उत्रिनु परेको हो।’
विरोध सभामा नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले ओली सरकारका निर्णयहरुबाट सबै क्षेत्रका जनसमुदाय त्रसित र आतंकित भएकाले आन्दोलनको विकल्प नभएको बताए।