काठमाडौँ, २१ माघ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्व–प्रधानमन्त्री डा.बाबुराम भट्टराइले नेकपाकाे सरकार परम्परागत शैलीमा चलेको बताएका छन्। ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद’ कार्यक्रमका क्रममा खोटाङ पुगेका डा.भट्टराईले सोमबार दिक्तेलमा पत्रकारसँगको कुराकानिमा सरकार परम्परागत शैलीमा अघि बढेको टिप्पणी गरेका हुन्।
मध्यपहाडी लोकमार्गको पूर्वी विन्दु चियोभञ्ज्याङ्बाट माघ १५ गतेदेखि शुरु भएको एक महिने लामो अन्तर संवादका क्रममा दिक्तेल पुगेका डा.भट्टराईले सरकारको भूमिका जनताको अपेक्षा अनुसार नभएको बताए।
भट्टराईले जनताको जीवनमा परिवर्तन आउने खालका ठूल-ठूला परियोजना, लाखौं जननताले रोजगार प्राप्त गर्ने वातावरण बन्न नसक्दा जनतामा निराशा छाएको दाबि गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा खोटाङको नुनथलामा २०५२ सालमा जनयुद्धको तयारीका बेला पैदलयात्रा गर्दा सहयोग गर्ने हर्कराज तामाङसँग भेट भएको कुरा पोस्ट गरेका छन्।
उनले लेखेका छन्, ‘खोटाङको नुनथलामा २०५२ सालमा जनयुद्धको तयारीका बेला पैदलयात्रा गर्दा सहयोग गर्ने हर्कराज तामाङ अहिले जनसम्बाद यात्राको क्रममा उही जोशजाँगर तर उही दीनहीन अवस्थामा देख्दा निकै भावुकताको अनुभूति भयो । हाम्रै जीवनकालमा ‘समृद्धि–सबैका लागि, सधैंका लागि’ प्राप्त गर्ने अठोट अरू दृढ बन्यो ।’