काठमाडौं, २१ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले वतर्मान सरकारले संविधान विरोधी काम गरिरहेको आरोप लगाएका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको आरोप लगाएका हुन्।
नेता शर्माले भने,‘देश आज उल्टो दिशामा गइरहेको छ। यो स्वीकार गर्न सकिँदैन, सरकारले संविधान पालना गरिरहेको छैन। मैले सरकारको विरोध गर्न खोजेको होइन तर सरकारले विधेयक ल्याउँदा संविधानअनुसार ल्याउनु परेन ? कर्मचारी समायोजन गर्नु परेन ? सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ?’
नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारले जनपक्षिय काम नगरेको उनको तर्क छ । उनले व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नभएकाले यसमा गर्व गर्नुको कुनै अर्थ नभएको बताए। उनले भने,‘राणा र राजाहरू पनि सिंहदरबारमा त बसिरहेका थिए।
पूराना शासकजस्तो शासकीय चरित्र बोकेर सेवा गर्न सकिँदैन,हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन गर्यौं भनेर गर्व गर्नुको अर्थ छैन। अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो।’