काठमाडौँ, २१ माघ – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किंदै छ।
ऐतिहासिक जीत हासिल गरेको क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषदसहित खेल क्षेत्रमा सक्रिय संघसंस्थाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्दैछन्। दुईवटा ऐतिहासिक श्रृङ्खला विजेता नेपाली टोली अपराह्न ३ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै नेपाली टोलीलाई भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ।
क्रिकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट, उपाध्यक्ष तिम्सिना लगायत पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताएका छन्।
नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरेपछि त्रिपुरेश्वरस्थित परिषद परिसर पुर्याइने छ। घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० श्रृङ्खला समान २–१ ले जितेको थियो। दुवै श्रृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई श्रृङ्खला कब्जा गरेको थियो।
नेपाली टोलीका लागि दुवै श्रृङ्खला ऐतिहासिक रहेको थियो। नेपालले पहिलो पटक एकदिवसीय र टी–२० श्रृङ्खला जितेको हो।उक्त प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमान बनाएका छन्। रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन्।
उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए। यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बनेको इतिहास निर्माण गरी स्वदेश फर्किंदै छन्।