किशोर विश्वकर्मा, विराटनगर, २० माघ – प्रदेश नं. १ को हिउँदे अधिवेशन शुरु भएकै दिन आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश सभा भवनअगाडि धर्ना दिएको छ। १ नम्बर प्रदेशको नाम किरात, लिम्बुवान वा खम्बुवान हुनु पर्ने माग गर्दै मञ्चले एक घण्टा धर्ना दिएको हो।
मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा लिम्बुवान संगठन सम्बद्ध नेताकार्यकर्ताले अपरान्ह ३ बजेदेखि धर्ना शुरु गरेर संसदको अधिवेशन प्रभावित पार्ने प्रयास गरेका थिए।
बाक्लो सुरक्षा व्यवस्थाकाबीच प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालन गरिएको थियो। धर्नाका लागि संखुवासभा, धनकुटा, सुनसरी, झापा र मोरङका विभिन्न स्थानबाट मञ्चका कार्यकर्ताहरु भेला भएका थिए।